दफा २२
राजस्व र व्ययको अनुमान साथ संलग्न गर्नु पर्ने विवरण
(१) नेपाल सरकार तथा प्रदेशले राजस्व र व्ययको अनुमान पेश गर्दा देहायका विवरण संलग्न गर्नु पर्नेछः-
(क)   अघिल्लो आर्थिक वर्षमा गरिएको राजस्वको अनुमान अनुसार राजस्व सङ्कलन भए नभएको तथा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र खर्च अनुसारको लक्ष्य हासिल भए नभएको विवरण,
(ख)   दफा १७ बमोजिमको मध्यकालीन खर्च संरचना,
(ग)   आगामी तीन आर्थिक वर्षको राजस्व, व्यय र अनुमानको प्रक्षेपण,
(घ)   ऋण, लगानी तथा दायित्व सम्बन्धी विवरण,
(ङ)   वित्तीय सन्तुलन कायम गर्न अपनाइने रणनीति उल्लेख भएको वित्तीय नीति,
(च)   आगामी तीन आर्थिक वर्षको कूल ग्राहस्थ उत्पादनमा हुने वृद्धिदर, मुद्रास्फिति, चालु खाता सन्तुलन र भुक्तानी सन्तुलनको स्थिति उल्लेख भएको समष्टिगत आर्थिक स्थिति,
(छ)   कर वा गैर करमा छुट दिइएको विवरण,
(ज)   अघिल्लो आर्थिक वर्षको वैदेशिक सहायता प्राप्तिको विवरण ।
(२) नेपाल सरकार तथा प्रदेशले अघिल्लो वर्ष अनुमान गरे अनुसारको राजस्व सङ्कलन हुन नसकेको वा मन्त्रालयलाई छुट्याएको रकम लक्ष्य अनुसार खर्च हुन नसकेकोमा त्यसको कारण र त्यसका लागि गरिने सुधारका उपाय समेत उपदफा (१) को खण्ड (क) बमोजिमको विवरणमा उल्लेख गर्नु पर्नेछ ।
(३) उपदफा (१) को खण्ड (च) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेशले सो खण्ड बमोजिमको विवरण पेश गर्नु पर्ने छैन ।
(४) स्थानीय तहले राजस्व र व्ययको अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा गरिएको राजस्वको अनुमान अनुसार राजस्व सङ्कलन हुन नसकेको वा खर्चको लागि छुट्याएको रकम लक्ष अनुसार खर्च हुन नसकेकोमा त्यसको कारण र त्यसका लागि गरिने सुधारका उपायको विवरण संलग्न गर्नु पर्नेछ ।